ताजा खबर

किसानको आलीदेखि उपभोक्ताको थालीसम्म हाम्रो यात्राको लक्ष्य

7 months ago

205 views

किसानको आलीदेखि उपभोक्ताको थालीसम्म हाम्रो यात्राको लक्ष्य

शंकरनाथ उप्रेती
अध्यक्ष, राष्ट्रिय खाद्य बैंक

नेपालमा विशुद्ध खाद्य सम्बन्धित काम गर्ने पहिलो बैंकको रूपमा राष्ट्रिय खाद्य बैंकको यात्रा सुरु गरिएको थियो । करिब चार वर्षको लामो गृहकार्यपछि २०७७ सालमा यस संस्थाको स्थापना भएको थियो । कृषि उत्पादनलाई केवल खेतमै सीमित नराख्ने, बरु त्यसलाई भण्डारण, प्रशोधन र बजारसम्म पु¥याएर किसानलाई वास्तविक लाभ दिलाउने उद्धेश्यले सुरुवात गरिएको यस बैँकले भन्ने गरेको छ, हामी किसानको “आलीदेखि उपभोक्ताको थालीसम्म” आफैँले काम गर्ने गरी अगाडी बढेका छौँ । यसको अर्थ के हो भने, बैँकले बिचौलियाको उपस्थितिलाई निरुत्साहित गर्दै किसानले पसिना बगाएर उत्पादन गरेको उपजलाई उचित मूल्यमा बजारसम्म पु¥याउने ढोका खोल्ने प्रयास गर्दैछ । बैँकले जैविक पद्धती अबलम्बन गरी उत्पादन गर्ने, स्थानिय तथा रैथाने उपजहरुलाई उत्पादनदेखि भण्डारण, प्रशोधन, वितरण र विपणनसम्म सम्पूर्ण शृंखलामा प्रत्यक्ष संलग्नता जनाइरहेको छ ।
हाल बैँकले सर्वसाधारणको लागि आइपिओ ल्याउने तयारीमा छ । यस आईपीओमार्फत किसान, सहकारी, लगानीकर्ता र उपभोक्ता सबैलाई यो अभियानमा सहभागी हुन आमन्त्रण गर्दै गरेको प्रसंग लगायतका विषयमा एग्रो टाइम्सका काठमाडौँ प्रतिनिधिले राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष, शंकरनाथ उप्रेतीसँग संवाद गरेका छन्, प्रस्तुत छ सोही कुराकानी  :

राष्ट्रिय खाद्य बैंक किन आवश्यक छ, र यसले किसान र उपभोक्तालाई कसरी लाभ पुर्याउँछ ?
सबैको लागि राष्ट्रिय खाद्य बैंक लिमिटेड अवको आवश्यकता हो किनभने नेपालमा स्वास्थ्यवर्धक, मौलिक र गुणस्तरीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन अहिले पर्याप्त संरचना छैन । हामीले किसानको उत्पादनलाई सही मूल्य निर्धारण, भण्डारण, प्रशोधन, प्याकेजिङ र वितरणको सम्पूर्ण शृंखलामा जोड्दै बिचौलियाको निर्भरता हटाउँने गरी काम गर्न लागेका छौँ । यसले किसानलाई उत्पादनको वास्तविक मूल्य दिन्छ र उपभोक्तालाई विश्वासिलो, गुणस्तरीय खाना उपलब्ध गराउँछ। यसरी, राष्ट्रिय खाद्य बैंकले मात्र व्यवसायिक रूपमा लाभ पुर्याउने छैन, नेपालमा खाद्य सुरक्षा र कृषि विकासको मार्ग पनि सुनिश्चित गर्छ ।

राष्ट्रिय खाद्य बैंकले आईपीओ ल्याउन लागेको छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ, किन आईपीओ आवश्यक छ, र लगानीकर्ताले यसबाट के अपेक्षा गर्न सक्छन् ?
राष्ट्रिय खाद्य बैंकले आउँदो असोज २५ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ, जसले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कुल पुँजी एक अर्ब जुटाउने उद्देश्यले ७० करोड प्रमोटरको तर्फबाट र बाँकी ३० करोड सर्वसाधारणबाट जुटाउने तयारीमा छौँ । यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता भइसकेको छ र सभाले पारित गरेसँगै प्रक्रिया सुरु हुनेछ । कम्पनीको वित्तीय अवस्था स्थिर र स्वस्थ छ । २०७७ सालमा स्थापना हुँदा अधिकृत पुँजी दुई अर्ब रुपैयाँ थियो र आज बैंक दीगो वित्तीय स्थिति कायम गर्दै अघि बढिरहेको छ । राष्ट्रिय खाद्य बैंक सरकारले तोकेका कानुन र नियमअनुसार सञ्चालन भइरहेको छ र सर्वसाधारणले आफ्नो लगानी सुरक्षित छ भन्ने विश्वास राख्न सक्छन् । आईपीओको उद्देश्य पुँजी जुटाउनु मात्रै होइन, यो बैंकको दीगो विकास, किसान र उपभोक्तासम्मको स्वास्थ्यवर्धक खाद्य उपजको पहुँच सुनिश्चित गर्न, उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण शृंखलालाई सुदृढ पार्न र लगानीकर्तालाई पारदर्शी, भरोसायोग्य अवसर प्रदान गर्न समेत रहेको छ । यसमा सहभागी हुनाले लगानीकर्ताले केवल वित्तीय लाभ मात्र होइन, राष्ट्रिय खाद्य सुरक्षा, स्थानीय उत्पादन प्रवद्र्धन र किसानहरूको आर्थिक सशक्तिकरणमा पनि प्रत्यक्ष योगदान दिन सक्नेछन् ।

राष्ट्रिय खाद्य बैंकको आईपीओमा सर्वसाधारणले लगानी गर्दा फाइदा चाँहि कति र कसरी हुन्छ ?
यो स्वाभाविक प्रश्न हो । आज बजारमा विभिन्न कम्पनीहरूले आईपीओ ल्याइरहेका छन्, कतिपय त भविष्यमा पनि स्थिरता नहुने कम्पनीहरू छन् । तर राष्ट्रिय खाद्य बैंक फरक छ, हामी निरन्तर उत्पादन र कृषिसम्बन्धी क्षेत्रमा सक्रिय छौँ र भविष्यमा पनि यही काम जारी राख्ने योजना बनाएका छौँ । लगानीकर्ताले आफ्नो लगानी यस्ता उत्पादनमा केन्द्रित कम्पनीहरूमा गर्नु उपयुक्त हुन्छ, जसले दीगो आर्थिक गतिविधि र वास्तविक उत्पादन सृजना गर्छ । राष्ट्रिय खाद्य बैंक किसानको “आलीदेखि उपभोक्ताको थालीसम्म” सम्पूर्ण शृंखलामा काम गर्दै आएको कम्पनी हो ।
यसमा लगानी गर्दा शंका गर्नु आवश्यक छैन । हाम्रो लक्ष्य केवल उत्पादनमा सीमित छैन, भविष्यमा राम्रो प्रतिफल सुनिश्चित गर्नु हो । छिमेकी देशको अमूल डेरीको शेयर मूल्य कित्तामै १८ हजार पुगेको उदाहरणले देखाउँछ कि दीगो र व्यवस्थित गतिविधिले लगानीमा उत्कृष्ट प्रतिफल दिन सक्छ । हामी पनि योजनाबद्ध रूपमा यही लक्ष्यतर्फ अघि बढिरहेका छौँ ।
त्यसैले सर्वसाधारणले राष्ट्रिय खाद्य बैंकको आईपीओमा ढुक्कले लगानी गर्न सक्नेछन्। हाम्रो स्थिर वित्तीय अवस्था, स्पष्ट योजना र उत्पादनमै केन्द्रित कार्यशैलीले लगानीकर्तालाई सुरक्षित र भरोसायोग्य अवसर प्रदान गर्दछ ।

आईपीओबाट संकलन गरिएको पुँजीलाई कसरी सहि तरीकाले व्यवस्थापन गर्नुहुन्छ ?
आईपीओबाट संकलन गरिएको पुँजी मुख्य रूपमा उत्पादन र कृषिसम्बन्धी उद्योगमा लगानी गरिनेछ । हाम्रो उद्देश्य नेपालमै उत्पादन प्रवर्धन गर्नु, नेपाली नागरिकलाई आर्थिक अवसर दिनु, नेपालको जिडिपीमा योगदान पुर्याउनु र कृषिमा रोजगारी सिर्जना गर्नु हो । हामी यो पुँजी केवल कृषि उत्पादन र त्यससँग प्रत्यक्ष सम्बन्धित उद्योगमा लगानी गर्नेछौँ । अन्यत्र वा गैर–कृषिसम्बन्धी क्षेत्रमा लगानी गरिने छैन । यसरी, लगानीकर्ताले आईपीओमा गरेको योगदान सीधै दीगो उत्पादन र राष्ट्रिय कृषि विकासमा प्रयोग हुने सुनिश्चित गर्न सक्नेछन् ।

अन्त्यमा केही सन्देश दिन चाहनुहुन्छ ?
राष्ट्रिय खाद्य बैंकले भविष्यमा पनि किसानको उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण शृंखलामा कामलाई निरन्तरता दिने योजना बनाएको छ । हामीले बिचौलियालाई हटाइसकेका छौँ र केवल उत्पादन भएका वस्तु मात्र खरिद गर्ने मात्र होइन, उत्पादन प्रक्रिया नै सहकार्यमा अगाडि बढाउँछौँ । स्थानीय तहसँग सहकार्य गर्दै माटो परीक्षण, विशेषज्ञ टोलीको मार्गदर्शन र उत्पादनको प्रारम्भिक चरणमै सहभागिता सुनिश्चित गरिन्छ। उत्पादित वस्तुको बजारको ग्यारेन्टी पनि हामीले सुनिश्चित गरेका छौँ। आगामी दिनमा प्रदेश र संघसँग समेत मिलेर काम गर्दै, राज्यलाई आर्थिक दृष्टिले सबल बनाउने र उपभोक्तालाई स्वास्थ्यवर्धक खानेकुरा उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।
ठूला स्केलमा काम गर्दा यसको प्रभाव पनि ठूलो हुनेछ । हामीले नेपाली उत्पादन विदेशमा निर्यात गर्ने योजना बनाएका छौँ । राष्ट्रिय खाद्य बैंक कृषिलाई औद्योगीकरणतर्फ लैजान कार्यरत छ । कृषिमा ट्र्याक खोलिसकिएको छ र चाँडै आवश्यक पूर्वाधार निर्माण गर्दै थप व्यवस्थित उत्पादन र वितरण प्रणाली स्थापना गर्ने तयारीमा छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?