ताजा खबर

मरुभूमिबाट फर्किएर माछापालनमा रमाउदैं झापाका शैलेन्द्र

3 months ago

169 views

मरुभूमिबाट फर्किएर माछापालनमा रमाउदैं झापाका शैलेन्द्र

भद्रपुर (झापा), १२ माघ । विदेश जानु नै सफलताको मापदण्ड हो भन्ने आम धारणा रहँदै आएको बेला झापाको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने स्वदेशमै श्रम र सीप लगानी गरेर आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

स्नातक तहको अध्ययन पूरा गरेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका सिटौला एक वर्ष पनि विदेश बस्न सकेनन् । मरुभूमिको देशमा सीमित स्रोत हुँदाहुँदै पनि आधुनिक प्रविधिको प्रयोगबाट सफल कृषि र पशुपालन भइरहेको देखेपछि उनको सोचमा परिवर्तन आयो ।
“मरुभूमिमा खेती सम्भव छ भने हरियाली नेपालमा किन हुँदैनरु” भन्ने प्रश्नले उनलाई स्वदेश फर्किन प्रेरित गर्‍यो ।

वि.सं. २०७४ मा नेपाल फर्किएपछि सिटौलाले हल्दीबारीमा दुई बिघा क्षेत्रफलमा व्यावसायिक माछापालन सुरु गरे । प्रारम्भमा करिब १० लाख रुपैयाँ लगानी गरेर पोखरी, तटबन्धलगायत संरचना निर्माण गरेका उनले हाल पाँच वटा पोखरीमार्फत माछापालन गरिरहेका छन् ।

उनको फार्ममा मुख्य रूपमा पंगास जातका माछा पालिन्छन् भने केही मात्रामा कार्प प्रजातिका माछा पनि छन् । भुरा उत्पादनका लागि छुट्टै साना पोखरी राखिएका छन् । हाल फार्ममा करिब ३५ हजार भुरा रहेका छन् ।

बजारमा बिक्रीका लागि तयार माछाको तौल एक केजीदेखि अढाई केजीसम्म रहेको छ । वार्षिक करिब ३० टन माछा बजारमा आपूर्ति हुने सिटौला बताउँछन् । माछापालन व्यवसायबाट उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । “आफूले विदेश जानुपर्ने बाध्यता नहोस् भन्ने चाहना थियो,” उनी भन्छन्, “यस व्यवसायले अरूलाई पनि रोजगारी दिन सकेको छु, यही नै मेरो ठूलो उपलब्धि हो ।”

खर्च कटाएर वार्षिक १६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको र कुल लगानीको करिब २० प्रतिशत नाफा लिन सफल भएको उनको भनाइ छ । सुरु भएदेखि नै माछापालन व्यवसाय राम्रोसँग अघि बढिरहेको उनले बताए ।

यद्यपि, बजार र मूल्य निर्धारण मुख्य चुनौतीका रूपमा रहेको सिटौलाको गुनासो छ । किसानबाट प्रतिकेजी २४० रुपैयाँमा माछा खरिद गरिए पनि उपभोक्ताले बजारमा ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपरेको उनी बताउँछन् । “उत्पादन र जोखिम किसानको हुन्छ, तर मूल्य बिचौलियाले तोक्छ,” उनको भनाइ छ ।

भारतबाट अवैध रूपमा भित्रिने माछाले पनि समस्या सिर्जना गरिरहेको उनले बताए । कतिपय अवस्थामा मरेका माछामा फर्मालिन प्रयोग गरी नेपाली बजारमा ल्याइने गरेको आरोप छ, जसले उपभोक्ताको स्वास्थ्य जोखिममा पार्नुका साथै स्वदेशी किसानलाई सस्तोमा बेच्न बाध्य बनाएको उनको भनाइ छ ।

“यदि सरकारले दुई–तीन महिना मात्र भारतबाट आउने माछामा कडाइ गरे पनि हामीजस्ता किसानलाई ठूलो राहत मिल्थ्यो,” सिटौला भन्छन् । कृषकको पहिचानप्रति गर्व व्यक्त गर्दै उनले कृषि पेसा सम्मानित र आत्मसन्तुष्टि दिने पेशा भएको बताए ।

उनका अनुसार युवा विदेशिनु बाध्यता भए पनि उचित नीति, बजार व्यवस्थापन र संरक्षण भए धेरै युवा स्वदेशमै टिक्न सक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?